Thursday, April 15, 2010

पारिजातको संक्षिप्त परिचय

१९९४ साल बैशाख महिनाको एक दिन डाक्टर के.एस.वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एक बालिकाले जन्म लिइन् । ती बालिकाको नाम विष्णुकुमारी वाइबा राखियो । उनको बाल्यकाल अन्य बालबालिकासरह बिते पनि उनको स्वभावमा भने अरुभन्दा केही अन्तर देखापर् यो । उनी अलिक गम्भीर निडर चिन्तनशील र अन्तर्मुखी थिइन् । उनको स्वास्थ्य सानैदेखि राम्रो थिएन । उनलाई १३ वर्षको उमेरदेखि हाडजोर्नीको रोगले छोयो । यो रोग नै उनको जीवनपर्यन्त रह्यो ।

उनको जीवनलाई पहिलो पटक झक्झक्याइ दिने घटना आपुनै दाजु शिवको दर्दनाक मृत्यु थियो । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा उनको मृत्यु भएको थियो । यो घटनाले उनको संवेदनशील मनलाई मात्र हल्लाएन कि सम्पूर्ण परिवारलाई झक्झक्यायो । गाउँ परिवर्तन गर्दा अलिकति भएपनि सान्त्वना मिल्छ कि भनेर उनका बाबु डाक्टर के.एस.वाइबा २०१० सालमा काठमाडौं आइपुगे । त्यसबेला उनको उमेर १७ वर्षको थियो । त्यही साल पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उनले एस.एल.सी.परीक्षा उत्तीर्ण गरिन् । उनले पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आई.ए र २०१५ सालमा बी.ए.उत्तीर्ण गरिन् । एम.ए.मा अङ्ग्रेजी विषय लिएर पढिन् । तर रोगका कारण जाँच दिन सकिनन् र पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि उनको भावुक मनले नेपाली साहित्यको अध्ययनको सिलसिला जोडिसकेको थियो ।

२०१३ सालमा 'धरती' नामक पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहितयको विकासमा आफूलाई समर्पित गर्ने अठोटको अभिव्यक्ति पारिजातबाट भइसकेकेा थियेा । २०१४ सालमा त्इसताका युवा कविहरुद्वारा स्थापित 'रोदीघर' नामक साहित्यिक यात्रामा उनको प्रवेश सुरु भयो। २०१४ सालमै 'आकाङ्क्षा' कवितासङ्ग्रह पहिलो पुस्तकको रुपमा प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल पाटनमा शिक्षिकाको जागिर खानुपर् यो । यो जागिर खाँदाखाँदै रोगले निकै च्यापेर ल्याइसकेको थियो । त्यसले हावापानी बदल्दा केही बिसेक होला कि भन्ने आशामा २०१८ सालमा स्कुलको जागिर छाडी काठमाडौं प्रवेश गरेको ७ वर्षपछि पहिलोपल्ट १ महिनाको लागि दार्जिजिङ फर्कनुभयो । तर रोग झन्झन् बढ्दै गएपछि २०२१ सालदेखि ओछ्यानमै पर्नुभयो । जुनबेला उहाँ ओछ्यानमा पर्नुभयो त्यसबेला उहाँको उमेर २७ वर्षको मात्र थियो । त्यो बेलादेखि उहाँ जीवनभर ओछ्यानको ओछ्ायनमै रहनुभयो ।

नेपाली साहित्यको आकाशमा २०१३ सालदेखि कविताको माध्यमबाट आपुनो चिनारी सुरु गरेको भएतापनि गद्यलेखन प्रयासमा पनि निरन्तर लागिरहेको कुरा उहाँका चार वटा उपन्यास 'सङ्घर्ष', 'वर-पीपल', 'मानव', 'अन्तर्यामी' र 'शारदा' चित्त बुभुदो नभएको कारण जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ देखि २०२१ सालसम्म । उहाँले यी सबै जलाएपछि अर्को पाँचौँ उपन्यासले तत्कालीन नेपाली साहित्यकाशमा ठूलो हलचल ल्याइदियो । 'शिरीषको फूल'ले २०२२ सालको मदन पुरस्कार प्राप्त गर् यो । लामाले राखिदिएको 'छेडुकोल्मा' र न्वारनमा राखिदिएको नाम 'पारिजात' सधैँ ओझेलमा परिदियो । नेपाली आकाशमा 'पारिजात' नाम चम्कन थाल्यो ।

२०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाका विरुद्ध केही सङ्गीतकार र लेखक कविहरुले आपुनो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे । तयो समूहको नाम थियो 'राल्फा' । यस समूहको केन्द्रविन्दुको रुपमा पारिजात हुनुहुन्थ्यो । यो समूहले आपुना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो त्यहाँ-त्यहाँ आपुनो अशक्त शरीर लिएर पनि जानुभयो । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो ।

स्वास्थ्या झन्झन् खराब हुँदै गयो । हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग अल्सर दम पनि थपिएर बाँच्न मुस्किल पारिदिए । यी रोगहरुबाट मुक्ति पाउन उहाँ २०२६ २०२९ २०३० र २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ जानुभयो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आपुनो मनलाई सम्हाल्नुभयो र आपुूलाई साहित्यबाट मात्र नभई वैचारिकरुपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिनुभयो । उहाँ शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सकि्रय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सकि्रय हुनुभयो । पारिजात २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सकि्रय हुनुभयो । २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उहाँको सकि्रय भूमिका रह्यो ।

गीत सङ्गीतमा उहाँको ठूलो लगाव थियो । वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरु लगायत स्वदेश र विदेशमा उहाँले भ्रमण गर्नुभयो । उहाँ इन्द्रेणी सांस्कृतिक समाजको इसास को मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।

२०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उहाँ सडकमा ओर्लनुभयो । विभिन्न कि्रयाकलापहद्वारा जनआन्दोलनलाई सफल पार्न कि्रयाशील रहनुभयो । २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी हुनुभयो । प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक हुनुहुन्थ्यो । प्राज्ञहरुको माग पूरा गराउन भरमग्दुर प्रयास गर्नुयभो । पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य हुनुहुन्थ्यो । अन्तराष्ट्रिय सङ्घ-संस्थाहरुमा Out Right International, Feminist Association, Society for Women Geographer, Amnesty International आदिसँग सम्बन्धित हुनुहुन्थ्यो ।

उहाँले मदन पुरस्कार गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको थियो । उहाँलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक 'शिरिषको फूल'को अङ्ग्रेजी अनुवाद Blue Mimosa लाई अमेरिकाको मेरिल्याण्ड युनिभसर्िटीको पाठ्यक्रममा पनि राखियो । उहाँलाई मनपर्ने रङ्ग हरियो मनपर्ने ऋतु वर्षा मनपर्ने फूल गुराँस र मनपर्ने खाना छोइला मम सुख्खा रोटी काभ्रो चिण्डो टमाटर र कोइरालो थियो ।

उहाँको निधन लामो समयसम्मको पुरानो व्यथाले २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।

No comments:

Post a Comment