Thursday, January 28, 2010

सुकन्या दिदीले पनि कविता सुन्नुभो

- भोगीराज चाम्लिङ
पारिजात स्मृति केन्द्रले एउटा सार्थक कामको थालनी गरेको छ । मूलतः महिला स्रष्टाहरुलाई तिखार्न मद्दत पुगोस् भनेर गत सातादेखि आयोजना गरिएको त्यो कार्यक्रम नितान्त नयाँ नभए पनि बिरालोको घाँटीमा घन्टी बाँध्नेजस्तो कर्मकाण्डीय प्रकृतिको मात्र पनि होइन । सुकन्या दिदीको सौजन्यमा उपलब्ध म्हेपीको उहाँकै घरको एउटा कोठामा सुरुमा हामी एक दर्जनजतिको उपस्थितिमा कार्यक्रम सुरु गर्दा त्यति रौनक पैदा हुन सकेको थिएन । कार्यक्रमको उद्घाटनस्वरुप तीनवटा कविता वाचन गर्नुभन्दा पहिलो कवयित्री बेन्जु शर्माले यस्तै निराशा अभिव्यक्त गर्दै भनिन् 'यति थोरै मात्रै हुन्छौं होला भन्ने त मैले ठानेकै थिइनँ ।'

तब जब त्यसपछि क्रमशः पाचकुमारी परियार निभा साह सत्या पहाडी र लक्ष्मी मालीले आफ्ना तीन-तीनवटा कविताहरु वाचन गर्नुभयो तब वातावरणमा अलिक रौनकता थपियो । सुकन्या दिदी बीचबीचमा चिटिक्कको टिप्पणी गर्दै भन्नुहुन्थ्यो 'महिला कविहरु छैन छैन भन्छौं । यति राम्रा कविता लेख्ने कवयित्रीहरु हुनुहुँदो रहेछ 'वास्तवमा यो शृङ्खलाको सुरुआत पनि महिला कविहरुलाई लक्षित गरेर नै गरिएको हो पारिजात दिदीले अघि बढाउन खोज्नुभएको महिलामुक्ति अभियानलाई सम्मान र स्मरण गर्ने उद्देश्यका साथ ।

कविता वाचन चल्दै गर्दा स्नेह साय्मिले आकस्मिक फोटोग्राफरको पनि भूमिका निभाइरहनुभएको थियो भने बीचमा मैले पनि सघाएजस्तो गरें तस्बिर खिच्ने मान्छेकै तस्बिर नछुटोस् भन्ने मनोकांक्षाले । २ बजे सुरु गर्ने भनिएको कार्यक्रम तीन बजेतिर सुरु भए पनि 'ननस्टप' ६ बजेसम्म चालु रह्यो । बीचमा चियाचमेना गरियो तर कार्यक्रम स्थगित नगरीकन । र पनि समयको अभाव भएजस्तो अनुभव भयो । समय पर्याप्त हुन सकेन कि सकेन कि भन्ने लागिरह्यो । कवितावाचन र कवितामाथि मोलाहिजा नराखीकन खुलस्तसँग गरिएका टिप्पणीहरु कविहरुका लागि प्रेरक नै थिए । टिप्पणीले अझ धेरै समयको माग गरेको थियो जसले गर्दा कविहरुको विचार पनि सुन्न सकिन्थ्यो । तर कविहरुले कवितावाचन गरे सुन्नेहरुले टिप्पणी गरे । कवि कविता र टिप्पणीका बीचमा त्रिपक्षीय संवाद हुन नसक्नुको पीडाबोध समयभावले हामी सहभागी सबैलाई गरायो नै ।

सुकन्या दिदी सकि्रयतापूर्वक 'ननस्टप' चार घण्टा कविता सुन्नुभयो प्रतिकि्रया दिनुभयो । कस्तो मज्जा लाग्यो हामीलाई पनि ! लक्ष्मी मालीले त भन्नु पनि भयो 'आहा सुकन्या दिदी पनि आज हलचल नगरीकन कवितामा रम्नुभो ।' निभाजीले फ्याट्टै सोधिहाल्नुभो 'अघिपछि उहाँ कविता सुन्नुहुन्थ्यो र लक्ष्मी दिदीले भनेअनुसार पारिजात दिदी छँदा साहित्यकारहरुको जमघट भइरहने भए पनि सुकन्या दिदी 'ल मलाई त हतार छ है' भनेर कामतिर लागिहाल्नुहुन्थ्यो रे । तर त्यस दिन त उहाँको सकि्रय सहभागिता देखियो । त्यसले हामीलाई उत्साहित बनाएको थियो ।

राजेन्द्र अधिकारीले महेनतपूर्वक गर्नुभएको टिपोट र टिप्पणी महेश मास्केको टिप्पणीको शालीन गाम्भीर्य ! यी सबै कुराले अलग्गै आनन्दको सिर्जना गरेको थियो । गर्न त मैले पनि थोरैतिनो टिप्पणी गरें तर सिलसिला मिलाएर बोल्न नजान्ने आफ्नो कमजोरीसँग आफैं असन्तुष्ट रहने गरेको छु म । केही बोल्ने चाहना हुँदाहुँदै पनि स्नेह साय्मिले समयभावका कारण बोल्नै पाउनुभएन । तर कार्यक्रम सकिँदा कसैमा खेद थिएन यस्तो चिटिक्कको कार्यक्रम त अझ व्यवस्थित बनाएर गर्नुपर्ने रहेछ यस्तो कार्यक्रमको सार्थकता हुँदो रहेछ भन्ने साझा निष्कर्षमा हामी सबै थियौं । बेन्जु शर्मा पनि अन्तिममा त कार्यक्रमदेखि 'कन्भिन्स' हुनुभयो भन्ने मेरो आफ्नो निष्कर्ष छ ।

पारिवारिक निकटताको भाव र स्नेहपूर्ण रहेको त्यो छलफलको बारम्बार पक्षपाती हौं हामी ।

No comments:

Post a Comment